सूचना / प्रविधि

नेपाल प्रहरीको कमान्ड सम्हाल्दै कार्की,नियुक्त भए ३३ औं प्रहरी महानिरीक्षक



काठमाडौँ,२५कार्तिक । प्रतिस्पर्धामा रहेका व्याचमेट एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसीसंगै अर्का एआईजी शिद्धी बिक्रम शाहलाई पछि पार्दै नेपाल प्रहरीको कमान्ड दानबहादुर कार्कीले हात पारेका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसंगै उनले नेपाल प्रहरीको कमान्ड सम्हाल्न लागेका हुन्।

वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड सम्हालेका थिए ।

२०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

प्रकाशित : २५ कार्तिक २०८२, मंगलबार, ,