काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशव्यापी रूपमा राष्ट्रिय आर्थिक गणना सुरु गर्ने भएको छ। यसका लागि करिब ५ हजार कर्मचारी परिचालन गरिनेछ।
निजी र सरकारी सहकार्यको मोडेलमा सञ्चालन हुन लागेको उक्त गणनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा विभिन्न क्षेत्रको वास्तविक योगदानको स्पष्ट चित्र प्रस्तुत गर्ने लक्ष्य राखेको कार्यालयले जनाएको छ।
बुधबार नेपाल पत्रकार महासंघ सँग सहकार्यबारे आयोजित छलफलमा कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आर्थिक गणनामा निजी क्षेत्रको उल्लेखनीय सहयोग रहेको जानकारी दिए। उनका अनुसार यसपटकको गणना निजी–सरकारी सहकार्यको नयाँ मोडेलमा अघि बढाइएको छ।
उनले गणनालाई प्रभावकारी बनाउन विभिन्न निजी क्षेत्रका संस्थासँग सहकार्य गरिएको उल्लेख गर्दै नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघ सँग सम्झौता भइसकेको जानकारी दिए। परिसंघसँग तथ्याङ्क आदानप्रदान, विश्लेषण, वित्तीय साक्षरता अभिवृद्धि तथा पाँच वर्षसम्म सहकार्य गर्ने सहमति भएको उनले बताए। साथै, नेपाल उद्योग वाणिज्य महासंघ ले पनि सहकार्यमा रुचि देखाएको उनको भनाइ छ।
प्रवक्ता लामिछानेले निजी क्षेत्रको सहभागिता विगतको तुलनामा उल्लेखनीय रूपमा बढेको उल्लेख गर्दै अहिले विभिन्न संघ–संस्थासँग निरन्तर संवाद भइरहेको बताए। सञ्चार क्षेत्रका विभिन्न उपक्षेत्रसमेत समेटेर विस्तृत तथ्याङ्क संकलन गरिने र यसले सञ्चार क्षेत्रको जिडिपीमा रहेको योगदानसमेत उजागर गर्ने विश्वास व्यक्त गरे।
उनले संकलित तथ्याङ्कको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने स्पष्ट पार्दै व्यक्तिगत वा संस्थागत विवरण सार्वजनिक नगर्ने बताए। “हामीले संकलन गरेको तथ्याङ्क केवल समष्टिगत रूपमा विश्लेषण गरी सार्वजनिक गर्छौं, व्यक्तिगत विवरण कसैलाई उपलब्ध गराइँदैन,” उहाँले भने
साथै, उक्त तथ्याङ्क कर प्रयोजनका लागि प्रयोग नहुने स्पष्ट पार्दै उहाँले सबै क्षेत्रलाई निश्चिन्त भई सहयोग गर्न आग्रह गरे।























प्रतिक्रिया