सूचना / प्रविधि

तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ



काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको स्पष्ट  पारे ।

त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौँमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताए । शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधान विपरीतको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उनले त्यसमा संलग्न सबैलाई कारबाही हुने स्पष्ट पारे । उनले मुलुकमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको समेत जिकिर गरे ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार, ,