शिक्षा

अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न



काठमाडौंको, बौद्ध, महाङ्कालस्थित अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालयले २०८२ फाल्गुन २ गते शनिवारका दिन विविध कार्यक्रमसहित भव्य र सभ्य रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. बाबुराम ढुङ्गानाको अध्यक्षतामा अभिभावक दिवस सम्पन्न गरेको छ । नेपाली साहित्यमा छुट्टै पहिचान बनाउन सफल विशिष्ट साहित्यकार तथा प्रशासक त्रिलोचन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रशासक एवम् प्रतिष्ठानका सल्लाहकार श्री जनकराज ढुङ्गाना, पूर्व शिक्षा सहसचिव एवम् प्रतिष्ठानका सल्लाहकार श्री विश्वनाथं अर्याल, प्रतिष्ठानका सल्लाहकार प्रा.डा. रामचन्द्र भट्टराई, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री भिमानन्द ढुङ्गाना, कार्यकारी प्रन्सिपल तथा प्रतिष्ठानका सल्लाहकार श्री ईश्वरीप्रसाद लामिछाने, क्याम्पस प्रमुख श्री केशवप्रसाद जोशी, अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष तथा अरुणिमा शैक्षिक प्रतिष्ठान संचालक समितिका सदस्य श्री शम्भूप्रसाद बडाल, प्रतिष्ठानका गुठियार, स्थानीय जनप्रतिनिधिहरु, संस्थाका प्रतिनिधिहरु लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका बालबालिकाहरुले लोक, आधुनिक तथा थिम बेस नृत्य, गायन, अर्केस्ट्र, योग, तेक्वान्दो र चेतना–मूलक नाटक प्रस्तुत गरी दर्शकको ध्यान आकर्षित गर्न सफल भएका थिए । विद्यालयकी प्राचार्य (अध्यापिका) श्री शोभा खनालले विद्यालयको शैक्षिक उपलब्धी, प्रशासनिक व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप र विद्यालयले प्रदान गर्दै आएका सुविधाहरु र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।
अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालयका अभिभावक शिक्षक संघका अध्यक्ष चेतबहादुर बस्नेतले विद्यालयले आनो उद्देश्यअनुरुप काम गर्दै आएको कुरा उल्लेख गर्दै समयसापेक्ष विज्ञान र प्रविधिमैत्री शिक्षा तथा विद्यार्थीहरुको मनोविज्ञान अध्ययनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले प्रतिष्ठान विशुद्ध शैक्षिक गुठी भएकाले सुहाउँदो शुल्कमा पठनपाठन गराउँदै आएको बताउँदै कोरोना सङ्क्रमणपछि अरुणिमा परोपकार संस्था स्थापना गरी वर्षेनी करौडौँ रकमको छात्रवृत्ति उपलब्ध गराउँदै आएकोले उक्त संस्थामा जोडिन आग्रह गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्री त्रिलोचन आचार्यले फ्रान्सेली साहित्यकार बेकनको भनाइ उद्धृत गर्दै शिक्षाको महङ्खवमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम अवलोकनपछि आफू पनि अरुणिमा शिक्षा सदनको अभिभावक भएको नाताले अरुणिमाको अभिभावक बनेर गल्ती नगरेको धारणा व्यक्त गर्दै विद्यालयहरुले विदेश पलायन हुने क्रमलाई रोक्ने कार्यमा अहम् भूमिका खेल्न आग्रह गर्नुभएको थियो, साथै अवको गन्तव्य परोपकारी, भविष्यप्रति आशावादी र विभेदरहीत समाज निर्माण गर्ने नागरिक तयार पार्ने हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डा. बाबुराम ढुङ्गानाले विद्यार्थीको भविष्य निर्माण र सर्वाङ्गीण विकासका लागि अभिभावक विद्यार्थी र विद्यालयको त्रिकोणात्मक समन्वय कायम गर्दै विद्यार्थीका रुचि अनुसारको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकाइलाई प्रभावकारी बनाउन सकिने विचार राख्नुभएको थियो । सोही अवसरमा क्रिकेटमा विशेष रुचि र क्षमता देखाएका उत्कृष्ट दुईजना विद्यार्थीहरु रायन खनाल तथा आयुभ भट्टराईलाई ‘आमोद समृति क्रिकेट पुरस्कार कोष मार्फत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो पुरस्कार अरुणिमा शैक्षिक प्रतिष्ठान संञ्चालक समितिका सदस्य, श्री गोपाल प्रसाद बराल र महेश पराजुलीले संयुक्त रुपमा स्थापना गर्नुभएको हो ।

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार, ,