काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूको विवरणअनुसार साउनको तुलनामा भदौमा औसत ब्याजदर घटेको देखिन्छ ।
साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.६० प्रतिशत ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम ५.५७ प्रतिशत दिने भएका छन् । त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा साउनमा ४.११ प्रतिशत ब्याज दिइएकाेमा भदौमा घटेर ३.९६ प्रतिशतमा पुगेको छ ।
ब्याजदर घटाउने बैंकमध्ये एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई रहेका छन् । प्रभु बैंकले भने ब्याजदर बढाएको छ ।
साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२६ प्रतिशत ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्डले भदौमा घटाएर ५.१३ प्रतिशतमा ल्याएको छ भने प्रभु बैंकले १.१ प्रतिशत बिन्दुले बढाएर ५.३५ प्रतिशत पुर्याएको छ । यस प्रकारको निक्षेपमा भदौ महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया हो, जसले ६.२५ प्रतिशत ब्याज दिनेछ । यस बैंकले साउनकै दरलाई निरन्तरता दिएको हो ।
सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेण्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् । लक्ष्मी सनराइज बैंकले भने सबैभन्दा कम ५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।
विगत केही महिनादेखि नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन बैंकहरूलाई दबाब दिँदै आएको छ । लगानी बढाउने उद्देश्यले लिइएको नीतिले पुँजी पलायनको जोखिम बढ्न सक्ने विशेषज्ञहरूको धारणा छ ।
यस्तै, विकास बैंकहरूको ब्याजदर भने स्थिर देखिएको छ । गरिमा, मुक्तिनाथ, कामना सेवा र महालक्ष्मी विकास बैंकले भदौमा पनि साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । साउनमा गरिमाले ६.११ प्रतिशत, मुक्तिनाथले ६.२५ प्रतिशत, कामना सेवाले ६.१५ प्रतिशत र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका थिए । अन्य विकास बैंकहरूले पनि दर स्थिर राख्ने संकेत दिएका छन्
























प्रतिक्रिया