काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ। बजेटको अर्धवार्षिक समीक्षामार्फत प्रारम्भिक ६ प्रतिशतको अनुमान घटाउँदै नयाँ आँकडा सार्वजनिक गरिएको हो।
सरकारले यसअघि चालु आवमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो। तर धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा कमी, निर्माण क्षेत्रमा सुस्तता तथा घरजग्गा कारोबारमा गिरावटजस्ता कारणले वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने निष्कर्ष निकालिएको हो। गत आर्थिक वर्षमा भने जीडीपी वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ।
अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालु आवको पहिलो त्रैमासमा आधारभूत मूल्यमा जीडीपी ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ। गत आवको सोही अवधिमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित तथ्यांकले देखाएको छ।
कृषि क्षेत्रतर्फ चालु आवको पहिलो त्रैमासमा कुल मूल्य अभिवृद्धि १.३६ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। धान उत्पादन घट्ने भए पनि पशुपन्छी, तरकारी तथा फलफूल उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। यद्यपि कृषि क्षेत्रको समग्र वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने आकलन गरिएको छ। मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ। गत आवमा धान, गहुँ, मकैलगायत खाद्यान्न बाली २.६७ प्रतिशत र नगदेबाली २.०१ प्रतिशतले वृद्धि भएको अनुमान छ।
उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि पहिलो त्रैमासमा ५.४४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। ऊर्जा तथा निर्माण क्षेत्रको गतिविधि बढ्दा उद्योग क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। उत्पादनमूलक उद्योगको मूल्य अभिवृद्धि १.५२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ।
सेवा क्षेत्रतर्फ पहिलो त्रैमासमा कुल मूल्य अभिवृद्धि ३.०३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, सामान्य प्रशासन तथा रक्षा, पर्यटन तथा व्यक्तिगत सेवामा विस्तार हुँदा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
मध्यावधि समीक्षाअनुसार चालु आवको पहिलो छ महिनामा औसत मुद्रास्फीति १.७ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो।
























प्रतिक्रिया