अर्थ

लक्ष्मी बैंकको खुद मुनाफामा ४० प्रतिशतले बृद्धि



काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले बिहिबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा चार अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४० दशमलव ९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले दुई अर्ब ९२ करोड तीन लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा बढ्न सहयोग पुगेको छ । इम्पेरमेन्ट चार्ज तीन अर्ब ५८ करोड ८० लाख ६० हजार रुपैयाँबाट घटेर १ अर्ब १८ करोड २ लाख ४६ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी सात दशमलव ९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी बढेको छ भने कुल सञ्चालन आम्दानी घटेको छ । बैंकको सञ्चालन नाफा ३८ दशमलव ५५ प्रतिशत बढेर छ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा तीन अर्ब ५३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १२ दशमलव ३४ प्रतिशत छ।

बैंकको खुद मुनाफा बढेसंगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १एक सय ८६ रुपैयाँ ६३ पैसा रहेको छ । हाल चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २१ अर्ब नौं करोड रुपैयाँ छ । अघिल्लो आवमा चार दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको गत आवको चौंथो त्रैमासमा यस्तो कर्जा घटेर चार दशमलव २५ प्रतिशतमा सिमित रहेको छ ।

प्रकाशित : २९ श्रावण २०८२, बिहिबार, ,