breaking news

सुनको भाउ कति छ आज ?एक सातामै ३४ हजारले घट्यो सुन



काठमाडौं । नेपाली बजारमार सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको २ लाख ८२ हजार रुपैयाँको तुलनामा उल्लेख्य गिरावट हो।

महासंघका अनुसार पछिल्लो एक सातामा मात्रै सुनको भाउ ३४ हजार रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अहिले घटेर निकै तल झरेको हो। यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड थियो।

अन्तर्राष्ट्रिय कारणहरूले पनि सुनको मूल्यमा दबाब परेको देखिन्छ। पश्चिम एसियाली मुलुकहरूमा बढ्दो द्वन्द्वका कारण तेलको मूल्य महँगिँदै जाँदा अमेरिकी डलरको माग बढेको छ। विभिन्न देशहरूले डलरको आपूर्ति सन्तुलन मिलाउन सुन बिक्री बढाउँदा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटिरहेको विश्लेषण गरिएको छ। साथै, तेलको मूल्यवृद्धिसँगै मुद्रास्फीति बढ्ने र त्यसलाई नियन्त्रण गर्न ब्याजदर बढाउने दबाबले पनि सुनचाँदीको भाउमा असर पारेको छ।

यसैबीच, सोमबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँ रहेको चाँदी आज ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ।

प्रकाशित : ९ चैत्र २०८२, सोमबार, ,