breaking news

काठमाडौँमा पेट्रोल १८७ रुपैयाँ प्रतिलिटर,फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,



काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। पछिल्लो समायोजन गरेको ११ दिन नपुग्दै निगमले गत मध्यरातदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको हो।

नयाँ दरअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तोकिएको छ। यसैगरी डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ कायम गरिएको छ। यस समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।

निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई समेटेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ परेका छन्। तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल डिपो रहेका छन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। निगमका अनुसार मार्च १ देखि २४ सम्म खरिद गरिएको पेट्रोलको मूल्य प्रतिलिटर ७६ रुपैयाँ र डिजेलको १४३ रुपैयाँसम्म बढेको छ।

प्रकाशित : १२ चैत्र २०८२, बिहिबार, ,