देश / प्रदेश

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न



महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको वासन्ती छठ पर्व सम्पन्न भएको छ । मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका व्रतालुले आज बिहान सूर्योदयसँगै दोस्रो अर्घ्य अर्पण गर्दै पर्व समापन गरेका हुन् ।

मिथिला क्षेत्रमा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनेर चिनिन्छ । वसन्त ऋतुमा मनाइने भएकाले यसलाई वासन्ती छठ भनिने र चैत शुक्ल पक्षमा पर्ने हुँदा ‘चैती छठ’ नाम प्रचलनमा आएको स्थानीय अग्रजहरू बताउँछन् ।

चार दिनसम्म चल्ने यो पर्व चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । पहिलो दिन ‘नहाय–खाय’ अन्तर्गत स्नान गरी शुद्ध भोजन गरिन्छ भने दोस्रो दिन ‘खरना’ विधिमा दिनभरि उपवास बसेर राति खिर प्रसाद ग्रहण गरिन्छ । त्यसपछि निराहार व्रत सुरु हुन्छ ।

षष्ठी तिथिमा व्रतालुले निराहार व्रत बसी साँझ जलाशयको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य (सझुका अरख) दिने परम्परा छ । यस क्रममा फलफूल, ठकुवा, भुसुवा (कसार) लगायतका प्रसाद सामग्री अर्पण गरिन्छ ।

सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य (भोरका अरख वा पारन) दिएपछि व्रत समापन गरिन्छ ।

वर्षमा दुईपटक—शरद् र वसन्त ऋतुमा—मनाइने छठ पर्व सूर्यदेव र षष्ठी देवीको आराधनासँग सम्बन्धित छ । कात्तिक र चैत शुक्ल पक्षमा समान विधिबाट यो पर्व मनाइने गरिन्छ ।

धार्मिक विश्वासअनुसार यस व्रतले मनोकामना पूरा हुने, रोग निवारण हुने तथा सुख–समृद्धि प्राप्त हुने मान्यता रहेको छ । मिथिला क्षेत्रमा यस पर्वको सम्बन्ध द्वापर युगसँग जोड्दै साम्ब ले कुष्ठरोग निको पार्न सूर्य उपासना गरेको प्रसंगसमेत सुनाइन्छ । साथै पाण्डव हरूले गुप्तवास सफलताको कामना गर्दै सूर्य आराधना गरेको जनश्रुति पनि प्रचलित छ ।

प्रकाशित : ११ चैत्र २०८२, बुधबार, ,