अन्तरराष्ट्रिय

इरान युद्धले गराउला अमेरिका र युरोपबीच ‘डिभोर्स’



बेलायतको लेकनहिथमा अमेरिकी वायु सेना सन् १९४८ आएको थियो। जर्मनीको रामस्टाइन हवाइ अड्डा १९५० को दशकको सुरुमै स्थापना भएको थियो। आज युरोपममा ४० भन्दा बढी अमेरिकी सैन्य अखडाहरू छन्, जहाँ ८५ हजार हाराहारी अमेरिकी सैनिक बसेका छन्।

तर, कुनै पनि कुरा सधैँ रहिरहँदैन। र, मेरो जीवनमा पहिलो पटक युरोपमा अमेरिकी सैन्य उपस्थिति पनि अन्त्य हुन सक्छ भन्ने लाग्दैछ।

तत्कालको बखेडा भनेको इरान युद्ध हो। इरानमा सैन्य कारबाहीका लागि अमेरिकाले स्वीकृति माग्दा युरोपले हिच्किचाहट देखायो, कहिलेकाहीँ अस्वीकार पनि ग¥यो। यसले डोनाल्ड ट्रम्पलाई क्रुद्ध तुल्याएको छ। उनले युरोपलाई ‘काँतर’ र ‘कागजी बाघ’ भन्दै गाली गरे। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिधै सोधे– संकटको घडीमा प्रयोग गर्न नपाउने हो भने अमेरिकाले युरोपमा सैन्य अखडा राख्ने झञ्झट किन बेहोर्नु?

यसको बदलामा इरान युद्ध सकिएपछि युरोपेली सहयोगी मुलुकहरूलाई दिइने सजायको सूचीमाथि ट्रम्प प्रशासनले सोचविचार गरिरहेको बताइन्छ। स्पेनलाई नेटोबाट निकाल्ने र फोकल्यान्ड टापुमाथि बेलायतको अधिकारलाई दिइएको मान्यता फिर्ता लिनेजस्ता कदम चाल्नुपर्ने सुझाव सुनिँदैछ।

तथापि, ट्रम्प प्रशासनले सम्भवतः बुझ्न नसकेको कुरा के हो भने यो खालको आक्रोश एकतर्फी होइन, दुईतर्फी छ। युरोपेली नेताहरू निकै तिक्तताका साथ र कहिलेकाहीँ सार्वजनिक रूपमै गुनासो पोखिरहेका छन्– अमेरिकाले आफ्ना सहयोगीहरूसँग सल्लाह नै नगरी यो मूर्खतापूर्ण र अवैधानिक युद्ध सुरु ग¥यो।

अमेरिकी नेतृत्वमाथि युरोपको विश्वास पनि हालसम्मकै कमजोर विन्दुमा झरेको छ। यो स्वाभाविक पनि हो किनकि अमेरिकाका कमान्डर इन चिफ जिसस क्राइस्टको स्वरूपमा आफ्नो तस्बिर पोस्ट गर्छन् अनि सिंगो सभ्यता मेटाइदिने धम्की दिन्छन्।

इरान युद्ध सुरु हुनुभन्दा एक वर्षपहिल्यै अमेरिकाले युरोपेली सहयोगी मुलुकहरूमाथि भन्सार महसुल लगाएको थियो। ट्रम्पले ग्रिनल्यान्डमाथि आक्रमण गर्ने धम्की पनि दिएका थिए। यसले युरोपेली सैनिकहरूले अमेरिकी सैनिकसँग लडाइँ लड्नु पर्ने रिंगटा छुटाउने सम्भावनाको ढोका खोलिदिएको थियो।

पोलिटिकोले यसै महिना गरेको सर्वेक्षणले स्पेन, इटली, फ्रान्स र जर्मनीमा अमेरिकालाई ‘निकट सहयोगी’ भन्दा खतरा मान्ने मान्छेको संख्या बढी छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी विदेश नीतिको चर्को आलोचना गरेर आफ्नो राजनीतिक भविष्य ब्युँताएका छन्। पोल्यान्ड र जर्मनीजस्ता कट्टर अमेरिकी समर्थक मुलुकका नेता समेत खुलेआम वासिङ्टनको नेतृत्वमाथि प्रश्न उठाइरहेका छन्।

दोस्रो युद्धयता युरोपमा अमेरिकाको उपस्थिति वासिङ्टनले थोपरेको होइन, युरोपेलीहरूले निम्त्याएका हुन्। तर अब केही युरोपेलीहरू त्यो निमन्त्रणा फिर्ता लिन लालायित हुँदैछन्।

उसोभए युरोपमा अमेरिकी सैन्य उपस्थिति घट्दा अमेरिकालाई ज्यादा घाटा होला कि युरोपलाई?

अमेरिकाको हकमा यो धेरै हदसम्म वासिङ्टन युरोप, मध्यपूर्व र अफ्रिकामा आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छ कि चाहँदैन भन्नेमा भर पर्छ। आन्ध्र महासागरको दुवैतर्फका राजनीतिक चालबाजीका बाबजुद यथार्थ के हो भने इरान युद्धमा अमेरिकाले युरोपेली सैन्य अखडाहरूको भरपूर प्रयोग गरिरहेको छ। इरानी भूमिमा खसेका र त्यसपछि उद्धार गरिएका पाइलट सम्भवतः बेलायतका लेकनहिथबाट उडेका थिए।

आफूलाई युरोपमा रहेका सैन्य अखडाहरू अब कहिल्यै चाहिँदैन भन्ने भरोसा भयो भने अमेरिकाले ती अखडा बन्द गराउन सक्छ। तर, पछिल्ला दशकमा मध्यपूर्व र बाल्कनमा अमेरिकी सैन्य हस्तक्षेपको क्रमलाई हेर्ने हो भने अहिलेको इरान युद्ध अमेरिकाको अन्तिम हस्तक्षेप हो भनेर मान्न सकिन्न। युरोपले अमेरिकासँग किन्ने हतियार र अन्य सरसामान अमेरिकाको निरन्तर सुरक्षा ग्यारेन्टीसँग जोडिएको छ। अमेरिकाको सुरक्षा प्रतिबद्धतामा शंका बढिरहँदा युरोपकै किनौँ भन्ने अभियानले गति पक्रेको छ।

अमेरिकीहरूलाई अलविदा भन्नु युरोपका लागि पनि निकै जोखिमपूर्ण छ। रुस युक्रेनमा अहिले पनि युद्ध लडिरहेको छ। पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले त केही महिनाभित्रै रुसले नेटो भूमिमा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। केही महिनामा नभए पनि केही वर्षमै रुसले आक्रमण गर्नसक्ने चेतावनी बर्लिन र लन्डनका नेताहरूले पनि दिइरहकै छन्। टस्कले औँल्याएजस्तै ट्रम्पको नेतृत्वमा अमेरिकाले नेटोको पारस्परिक रक्षाको सर्त पालना गर्नेमा शंका बढ्दो छ।

यतिबेला अमेरिकाको सहयोगबिना युरोपले रुससँगको युद्धमा आफ्नो रक्षा गर्न नसक्ने चेतावनी नेटोका महासचिव मार्क रुटले दिएका छन्। उनी जुनसुकै मूल्यमा पनि ट्रम्पलाई खुसी राख्ने प्रयासमा छन्।

केही युरोपेली नेताहरू रुटभन्दा ज्यादा आशावादी छन्। उनीहरू युरोपले आफ्नो रक्षा आफैँ गर्न सक्छ भन्ने ठान्छन्। युक्रेनमा रुसी सेनाको सैन्य प्रदर्शन खास गतिलो नभएको तथ्य उनीहरू औँल्याउँछन्। यो सत्य भए पनि हाल जुनसुकै युद्धका लागि पनि अत्यन्त आवश्यक हुने सैन्य क्षमतामा युरोप अमेरिकामाथि निर्भर छ। जसमा हवाइ प्रतिरक्षा, गुप्तचर स्रोत र तत्काल अग्रमोर्चामा ठूलो संख्यामा फौज उतार्ने विमान पर्दछन्। यी कमी पूरा गर्न युरोपलाई वर्षौं लाग्न सक्छ। त्यसमाथि नेटोको कमान्ड संरचना पनि अमेरिकालाई केन्द्रमा राखेर बनाइएको छ।

यी सबै कारणले गर्दा अमेरिकी राष्ट्रपतिलाई चुपचाप आफ्नो बाटो लाग भन्ने इच्छा हुँदाहुँदै पनि युरोपेली नेताहरू त्यसो भन्न सक्दैनन्। अर्कोतिर ट्रम्प प्रशासनले युरोपविरुद्ध बदला लिने दिवास्वप्न जति धेरै देखे पनि युरोपमा रहेका सबै सैन्य अखडा एकैपटक बन्द गर्ने कुरा त्यसमा समावेश छैन। तसर्थ आफूहरू एउटा दुखिया विवाह बन्धनमा बाँधिएको तथ्य आन्ध्र महासागरका दुवै किनाराले बुझेको देखिन्छ।

अमेरिका र युरोप दुवैका लागि औपचारिक छोडपत्र अझै पनि निकै टाढाको कुराजस्तो लाग्छ। तर, दुवै पक्षले यस्ता कुरा भनिरहेका र गरिरहेका छन्– जुन न सजिलै बिर्सिन सकिन्छ, न फिर्ता लिन। बिहेमा जस्तै गठबन्धनमा पनि यो निकै खतरनाक स्थिति हो।

प्रकाशित : २१ बैशाख २०८३, सोमबार, ,