कास्की । पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। वैशाख ३ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
पर्यटकीय शहर पोखरा मा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा पृथ्वीचोक क्षेत्रमा २०५ रोपनी जमिन छुट्याइएको थियो। तर करिब पाँच दशकसम्म योजना कार्यान्वयन नहुँदा अहिले उक्त क्षेत्र ४७ रोपनीमा खुम्चिएको छ। महानगरको अध्ययनअनुसार सो जग्गामा ४०० भन्दा बढी सुकुमवासी परिवार बसोबास गर्दै आएका छन्।
बसपार्क निर्माण नहुँदा पृथ्वीचोक क्षेत्रबाटै लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका छन्, जसका कारण ट्राफिक जाम र अव्यवस्था बढ्दै गएको छ।
महानगरले अतिक्रमण हटाउने तयारी थालेसँगै स्थानीय सुकुमवासीले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन नहुने माग गरेका छन्। कृष्णटोल आमा समूहकी अध्यक्ष रुपा केसीले बसपार्क निर्माणमा आफूहरू विरोधी नभएको स्पष्ट पार्दै वैकल्पिक व्यवस्था भएपछि मात्र स्थान छोड्न तयार रहेको बताइन्।
यस्तै, भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले प्रभावित परिवारलाई हाल बसोबास गरिरहेको क्षेत्रभित्रै वा नजिकै व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। व्यवस्थापनबिना खाली गर्न सूचना जारी गरिँदा आफूहरू चिन्तित भएको उनको भनाइ छ।
मजदुर नेता रुद्र गौतमले भने बसपार्कका लागि छुट्याइएको पूरै २०५ रोपनी जग्गा खाली गरिएमा अतिक्रमण हटाउने अभियानमा सहयोग गर्ने बताएका छन्। उनले विगतमा प्रभाव र पहुँचका आधारमा जग्गा किनबेच भएको दाबी गर्दै वास्तविक सुकुमवासीलाई विकासको बाधक देखाउनु गलत भएको धारणा व्यक्त गरे।

























प्रतिक्रिया