समाचार

शैक्षिक सुधारका लागि चौतारा साँगाचोकगढी नगरपालिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न



चौतारा — चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा शैक्षिक सुधारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्थानीय शिक्षा प्रेमी तथा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा कक्षा ८ को परीक्षाफल सन्तोषजनक नआएको विषयमा गम्भीर छलफल गरिएको थियो। सहभागीहरूले नतिजा सुधारका लागि ठोस योजना आवश्यक रहेको बताएका छन्।
कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख सिता थापा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरपालिकाका विद्यालय सुपरिवेक्षक राजु पराजुली र जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षण पद्धति सुधारका विषय समेटिएका थिए।
कार्यपत्रमाथि ज्ञानमन्दिर माविका प्रधानाध्यापक पुण्यप्रसाद गजुरेल, कुण्डला माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण गौतम तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष ध्रुव दंगालले टिप्पणी गरेका थिए।
कार्यक्रममा सहभागीहरूले शिक्षासुधारका लागि शिक्षकहरूको लगनशीलता, विद्यालय व्यवस्थापन समितिको प्रभावकारी निगरानी तथा सरोकारवाला निकायबीच समन्वय भएमा शैक्षिक परिणाम सुधार हुनेमा जोड दिएका छन्।

प्रकाशित : १७ बैशाख २०८३, बिहिबार, ,