समाचार

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसमा शुभकामना, सत्य र निष्पक्ष पत्रकारितामा जोड



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाली सञ्चार क्षेत्रलाई सत्य, तथ्य र निष्पक्ष सूचनाको प्रवाहमा निर्भय भएर सक्रिय हुन आग्रह गरेका छन् ।

आज मनाइँदै गरिएको विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीलाई शुभकामना दिँदै उनले स्वतन्त्र पत्रकारितामार्फत सत्यको खोजी र तथ्यको सम्प्रेषण गरी समाजमा सही सूचना स्थापित गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै विभिन्न लोकतान्त्रिक आन्दोलनहरूमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। “प्रेस जति स्वतन्त्र, निष्पक्ष र सबल हुन्छ, लोकतन्त्र पनि त्यति नै सुदृढ हुन्छ,” उनले भने।

उनले संविधानले प्रदान गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था सुनिश्चित गरिनुपर्नेमा जोड दिए। सूचना सङ्कलनदेखि प्रकाशनसम्मको प्रक्रिया स्वतन्त्र र अवरोधरहित हुनुपर्ने उनको भनाइ छ।

साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई भ्रमित पार्न सक्ने चुनौती रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता चुनौतीबीच सत्य र विश्वसनीय सूचना प्रवाह गर्न सञ्चार क्षेत्र अझ जिम्मेवार हुनुपर्ने बताए।

उनले विश्व प्रेस स्वतन्त्रता दिवसले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित : २० बैशाख २०८३, आइतबार, ,