मुख्य समाचार

खाना पकाउने ग्याससहित अत्यावश्यक वस्तुको कृत्रिम अभावप्रति विभागको कडाइ, अनुगमन तीव्र



काठमाडौँ । बजारमा खाना पकाउने ग्यास, खानेतेललगायत अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ ।

उपभोक्तालाई सहज राहत उपलब्ध गराउने उद्देश्यले विभागले उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानहरूमा अन्य सक्षम निकायको सहयोगमा संयुक्त रूपमा निरन्तर बजार अनुगमन गरिरहेको जनाएको छ ।

विभागका अनुसार पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई अनावश्यक रूपमा दुःख दिने कार्य बढेको छ । यस किसिमका कानुनविपरीत गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइएको र आगामी दिनमा अझ कडा निगरानी गरिने विभागले स्पष्ट पारेको छ ।

प्रचलित कानुनविपरीत कुनै पनि गतिविधि भएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिँदै विभागले उपभोक्तालाई सचेत रहनसमेत आग्रह गरेको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको दाबी गरे पनि उपभोक्ताहरूले भने सहज रूपमा ग्यास नपाएको गुनासो बढाउँदै आएका छन् । यही गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाएको हो ।

प्रकाशित : २७ माघ २०८२, मंगलबार, ,