मुस्ताङ । नेपाल–चीन उत्तरी नाका कोरलाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय न्यून हुँदै गएको छ। तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि कोरलानाकाबाट हुने व्यापार घटेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार हाल कोरलानाकाबाट नेपाल भित्रिने मालवाहक कन्टेनरको सङ्ख्या निकै कम भएको छ। अहिले भन्सार जाँचपासका लागि आठ–दशवटा कन्टेनर मात्र पेन्डिङमा रहेका छन् भने त्यसबाहेक थप कन्टेनर नआएको उनले जानकारी दिए ।
यसअघि तातोपानी र रसुवागढी नाका बन्द हुँदा कोरलानाकाबाट दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेको थियो। तर ती नाका खुलेसँगै अहिले सो कारोबार लगभग ठप्पजस्तै भएको सूचना अधिकारी सिंहको भनाइ छ।
गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट हालसम्म साढे पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ। यस नाकाबाट ११ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु नेपाल आयात भएको छ भने नेपालबाट करिब १९ करोड रुपैयाँभन्दा बढी मूल्यका हस्तकला तथा नेपाली उत्पादन चीनतर्फ निर्यात भएको छ।
हालसम्म कोरलानाकाबाट चीनबाट नेपालमा दुई हजार १०० भन्दा बढी विद्युतीय कार भित्रिएका छन्। पछिल्लोपटक बिवाइडी कम्पनीले झन्डै ५०० भन्दा बढी विद्युतीय कार यही नाकाबाट आयात गरेको छ। तर तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा मात्र प्रयोग गरिन थालेको छ। यस नाकाबाट सामान ढुवानी गर्दा लागत बढी पर्ने भएकाले आयात–निर्यातको परिमाण घटेको बताइएको छ।
प्रमुख सिंहले प्रतिकूल मौसमबाहेक अन्य समयमा कोरलानाकाबाट आयात–निर्यात पूर्ण रूपमा शून्य नहुने दाबी गर्नुभयो। उहाँका अनुसार केही व्यापारीका लागि कोरलानाकाबाटै कारोबार गर्न सहज हुने भएकाले भन्सार कार्यालय विगतका वर्षजस्तै ठप्प नहुने छ।
अहिले कोरलानाका र भन्सार कार्यालय क्षेत्रमा चहलपहल कम भएको छ। प्रतिकूल मौसमका बाबजुद केही कर्मचारी कार्यालयमै कार्यरत छन्। उच्च हिमाली क्षेत्रमा व्यापार गर्दै आएका व्यापारी, मालवाहक कन्टेनर तथा विद्युतीय सवारी सञ्चालनमा संलग्न स्थानीय युवा नाकाको गतिविधि घटेपछि जाडो छल्न बेँसी झरेका छन्।























प्रतिक्रिया