कला / मनोरञ्जन

आज देशभर सीता–रामको पूजा गर्दै विवाह पञ्चमी मनाइँदै



काठमाडौँ  । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको स्मरणमा आज देशभर पूजा–आराधना तथा विविध धार्मिक कार्यक्रमसहित विवाह पञ्चमी पर्व मनाइँदैछ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आजको दिवस विशेष महोत्सवका रूपमा मनाइँदैछ। गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणअनुसार जनकनन्दनी सीताको स्वयंवर आयोजित भएको दिनलाई आधार मानी मिथिलावासीले यो पर्वलाई शुभ अवसरका रूपमा मनाउने परम्परा चलिआएको छ।

पौराणिक कथन अनुसार मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरमा राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन दुवैको वैवाहिक संस्कार सम्पन्न भएको थियो। जनकपुरधामको रङ्गभूमिमा आयोजित स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास आज पनि अविचल रहँदै आएको छ।

महोत्सवअन्तर्गत मिथिलाली संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवरदेखि विवाह संस्कारसम्मका सबै धार्मिक विधि सम्पन्न गरिन्छ। विशेष रूपमा सजाइएका डोलामा रामलाई राम मन्दिरबाट र सीतालाई जानकी मन्दिरबाट बाजागाजा तथा झाँकीसहित रङ्गभूमि पुर्याइने चलन आज पनि निरन्तर छ।

विवाह संस्कारपछि दुवैलाई पुनः जानकी मन्दिरमा ल्याइन्छ। यस अवसरमा निस्कने डोला शोभायात्रामा देशभरका श्रद्धालुका साथै सीमावर्ती भारतीय क्षेत्रका भक्तजनको ठूलो सहभागिता रहने गर्दछ। रङ्गभूमि क्षेत्रमा वर–बधुपक्षबीच हुने हाँसो–ठट्टा, प्रतीकात्मक झाँकी तथा भक्तजनको भीडले वास्तविक विवाहको झल्को झनै भव्य बनाइदिन्छ।

पहिले एक महिनासम्म मनाइने यो महोत्सव हाल चार दिनमा सीमित भए पनि उल्लास, भजनकीर्तन, रामलीला, प्रवचन तथा विशेष पूजाअर्चनासहित निरन्तरता पाइरहेको छ। आज विवाह पञ्चमीको दिन विवाहका लागि साइत नचाहिने परम्परा पनि प्रचलित छ।

देशभरका राम–सीता मन्दिरमा विशेष पूजा तथा महोत्सव आयोजना गरी श्रद्धापूर्वक विवाह पञ्चमी मनाइँदैछ।

प्रकाशित : ९ मंसिर २०८२, मंगलबार, ,