राजनीति

एमालेले आज ‘नेशनल भोलियन्टर फोर्स’ घोषणा गर्दै, माइतीघर



काठमाडौँ । नेकपा एमालेले आज ‘नेशनल भोलियन्टर फोर्स’ अर्थात राष्ट्रिय स्वयंसेवक बल औपचारिक रूपमा घोषणा गर्दैछ।

बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्।

घोषणाअघि बबरमहलबाट माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास कार्यक्रम तय गरिएको पार्टी स्रोतले जनाएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा पुनर्स्थापनाको माग उठाइरहेको एमालेले पार्टी तथा सर्वसाधारणको सुरक्षाका लागि विभिन्न संयन्त्र निर्माण गरिरहेको दाबी गर्दै आएको छ। यही निरन्तरतामा राष्ट्रिय स्वयंसेवक बलको संरचना अघि बढाइएको बताइएको छ।

एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई जानकारी गराइसकेको छ। तर प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निवेदन आए पनि अनुमतिबारे निर्णय ‘विचाराधीन’ रहेको बताए।

यसैबीच, एमाले बागमती प्रदेश कमिटीले शनिबार प्रदर्शनीमार्गमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने तयारी गरेको छ।

प्रकाशित : ५ मंसिर २०८२, शुक्रबार, ,