सुलीकोट । चालु आर्थिक वर्षको चार महिनामा ८ हजार पाँच सय ४४ जना पर्यटकले उत्तरी गोरखाको मनासलु क्षेत्र भ्रमण गरेका छन् । सबैभन्दा बढी चार हजार दुई सय ४७ जना आन्तरिक तथा बाहय पर्यटकले कात्तिक महिनामा मनासलु क्षेत्रको भ्रमण गरेका मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।
मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका प्रमुख सन्तोष सेरचनका अनुसार असोज महिनामा तीन हजार चार सय ४२, भदौ महिनामा सात सय ७९ जना र साउन महिनामा सबैभन्दा कम ७६ जना पर्यटक मनासलु क्षेत्र भ्रमण गर्न आएका हुन् ।
गत वर्षको चार महिनामा जम्मा ४ हजार पर्यटक मनासलु क्षेत्र भ्रमणमा आएका थिए, कार्यालय प्रमुख सन्तोष सेरचनले भन्नुभयो, ‘यो आर्थिक वर्षको चार महिनामै दोब्बर संख्याले बढेर आठ हजार पर्यटक मनासलु क्षेत्र पुगेकाले अघिल्लो वर्षको तुलनामा पर्यटकको अत्यधिक मात्रामा संख्या बढेको छ ।’
कात्तिक महिनामा केहि दिन अघि परेको अबिरल बर्षा र हिमपातले केहि समय पदमार्ग अवरुद्ध भएपनि उज्यालो मौसम खुलेसँगै मनास्लु हिमाल हेर्दै लार्केपास गर्ने साहसिक यात्रुहरुको भीड निरन्तर बढिरहेको मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाले जनाएको छ ।
आन्तरिक तथा बाह्रय पर्यटकहरुले साम्दो, सामागाउँ, ल्हो, गाउँजस्ता उचाईमा बसेका बस्तीहरुमा हिमाली जीवन, संस्कृति र प्रकृतिको अनौठो संगम अनुभव गर्दै उत्तरी गोरखा भ्रमण लम्ब्याउने गरेका छन् ।
स्थानीय होटेल व्यवसायीहरुले यो वर्षको सिजनलाई “उमेरभरि सम्झने वर्ष” को उपमा दिएका छन् भने मनासलु पदमार्गमा बढ्दो आकर्षणको प्रमुख कारण यहाँको मौलिक संस्कृति, अविकृत हिमाली सौन्दर्य र अन्य लोकप्रिय पदमार्गको तुलनमा कम भिडभाड तथा विदेशी पर्यटकको लागि तिब्बती बस्तीसंगको सांस्कृतिक सामिप्यतामा पनि मुख्य आकर्षण बनेको छ ।
पर्यटकहरुले पर्यटकहरुले उनको टोपी, झोला, हातले बुनेका गहना र स्थानिय कृषिजन्य उत्पादन किनमेल गर्दै उत्तरी गोरखाको अर्थतन्त्र प्रत्यक्ष योगदान दिएको बताइएको छ । साम्दोका महिलाहरुले तयार पारको हस्ताकला सामग्री अहिले बिदेशी पर्यटकको सबै भन्दा मन पर्ने उपहार भएको छ ।
पर्यटकको संख्यामा भएको वृद्धिले उत्तरी गोरखा बासीमा उर्जा थपिएको छ, होटेल व्यवसायी निमा दोर्जेले भन्नुभयो, ‘विश्वको आठौ अग्लो हिमाल मनासलुको छायाँमा उभिदा पर्यटकको भन्ने गरेका छन्, यो त स्वर्गको एक अंश हो भन्ने गरेको कानमा गुञ्जिरहेको छ ।’
पर्यटकको सुरक्षित र सहज यात्रा तय गर्न स्थानिय निकायले मदमार्ग मर्मत, सूचना बोर्ड तथा स्वास्थ्य सेवामा सुधार गर्दै गएको साम्दोका स्थानीय व्यवसायी निमा दोर्जेले बताउनुभयो । चार महिनामै साँढे हजार यात्रुको आवगमनले मनासलु क्षेत्रलाई यो वर्ष पर्यटनको उज्यालो पहाड बनाई दिएको छ, जहाँ हिमाल मात्र होईन, संस्कृतिको धड्कन पनि उत्तिकै चम्किएको छ ।
























प्रतिक्रिया