मुख्य समाचार

सबै दलले आगामी निर्वाचनमा भाग लिनुपर्छ: जेनजी



काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिन आह्वान गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद् सदस्यहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनका प्रतिनिधिहरुले लोकतान्त्रिक अभ्यास सुदृढ गर्न सबै दलको सहभागिता आवश्यक रहेको बताए।

उनले संसदीय अभ्यासमा रहेका दलहरू निर्वाचनमा नआए चुनाव नै असम्भवजस्तो हुने भएकाले घोषित निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे।

जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको बताउँदै भने, “निर्वाचनमा सबै दल आउनुहोस्, यो जनताको अधिकार हो। स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत जनप्रतिनिधि चयन हुनुपर्छ। जनताले जसलाई रोज्छन्, त्यही विजयी हुन्छ। निष्पक्ष प्रतिष्पर्धाबाट नयाँ शक्ति पनि उदाउन सक्छ।”

ढुङ्गानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्‍याउन योगदान दिने व्यक्तिहरूलाई समावेश गर्नुपर्ने स्पष्ट धारणा पनि व्यक्त गरे।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू र सरकारबीच आगामी निर्वाचनबारे छलफल भएको थियो। सो छलफलमा दलहरूले शान्ति–सुरक्षा र उचित वातावरणको सुनिश्चितता माग गरेका थिए भने सरकारका तर्फबाट सबै दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिएको थियो।

प्रकाशित : २६ आश्विन २०८२, आइतबार, ,