मुख्य समाचार

तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न राष्ट्रपति पौडेलको आह्वान



काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरता सुनिश्चित गर्न सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् ।

बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा उत्पन्न असाधारण परिस्थिति तथा मानवीय क्षति, सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले दसैँलाई असत्यमाथि सत्यको विजय, पारिवारिक पुनर्मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने पर्वका रूपमा उल्लेख गर्दै यसले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “दसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले यसको महत्व बढाएको छ । यस पर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्दै राष्ट्रिय समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास गरेको छु ।”

उनले समग्र राष्ट्रको कल्याण र वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्तिका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

 

प्रकाशित : १३ आश्विन २०८२, सोमबार, ,