मुख्य समाचार

सिन्धुपाल्चोकमा इलाका प्रशासन कार्यालय विस्तारको माग गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्री दुवैको प्रतिबद्धता



काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा प्रशासनिक सेवाको सहज पहुँच र आवागमन समस्याको समाधानका लागि स्थानीय तह, विभिन्न दलका नेता तथा जनप्रतिनिधिहरूले काठमाडौंमा सरोकारवाला मन्त्रीहरूलाई भेटी ज्ञापनपत्र बुझाएका छन् ।
बागमती प्रदेशकै सबैभन्दा ठूलो भौगोलिक क्षेत्र भएको सिन्धुपाल्चोक जिल्ला सेवा सुविधा लिने क्रममा तीन जिल्लाजस्तो कठिनाइ भोगिरहेको भन्दै इलाका प्रशासन कार्यालय (ईआइओ) थप स्थापना गर्नुपर्ने माग अघि सारिएको हो । पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारमा भेटी ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमार्फत जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सेवाहरूलाई छिटोछरितो ढंगले उपलब्ध गराउन मेलम्ची र बाह्रबिसेमा छुट्टाछुट्टै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।
मेलम्ची ईआइओ अन्तर्गत हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका र ईन्द्रावती गाउँपालिकाका ४ देखि १२ नम्बर वडाहरू समेटिने प्रस्ताव गरिएको छ ।
बाह्रबिसे ईआइओ अन्तर्गत भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, बलेफी गाउँपालिकाको ८ नम्बर वडा र सुनकोशी गाउँपालिकाको ६ र ७ नम्बर वडा रहने माग गरिएको छ ।

स्थानीय प्रतिनिधिहरूको धारणा
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले नागरिकलाई सामान्य प्रशासनिक सेवा लिन दिनौं पैदल हिँड्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै तत्काल कार्यालय विस्तार आवश्यक रहेको बताए ।

त्यस्तै, बागमती प्रदेशका पुर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य सरेश नेपालले संघीयताको मर्मअनुसार जनतालाई नजिकमै सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै गृहमन्त्रालयले यो मागलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।
गृहमन्त्रीको आश्वासन
गृहमन्त्री रमेश लेखकले सिन्धुपाल्चोकको भौगोलिक विकटता र सेवाप्राप्तिमा देखिएको कठिनाइलाई बुझ्दै माग सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए । उनले मन्त्रालयले सक्दो छिटो कदम चाल्ने बताएका छन् ।
तातोपानी नाका र सडक अवरोधबारे छलफल
यसैबीच सोही टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई समेत भेटी तातोपानी, कोदारी नाकामा सडक अवरुद्ध हुँदा भएको समस्याबारे ध्यानाकर्षण गराएको छ । मन्त्री दाहालले दशैं अघि नै अवरुद्ध सडक खुलाउने गरी तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयका सचिव केशव शर्माले समेत समस्या समाधानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कदम चालिने उल्लेख गर्दै स्थानीय जनतालाई चाँडै सहज हुने विश्वास दिलाए ।शेर बहादुर तामाङले तातोपानी नाका सञ्चालन र सडक समस्या समाधानले सिन्धुपाल्चोक मात्र नभई मुलुककै व्यापार र आर्थिक समृद्धिलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।
d1d16665-8ace-44de-ba7d-67dff3ac1335-1756815987.jpeg

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार, ,