खेलकूद

आईसीसी टी–२० विश्वकप : नेपालले आज इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै



काठमाडौँ । आईसीसी टी–२० पुरुष विश्वकप २०२६ मा नेपालले आज विश्व विजेता इंग्ल्यान्डविरुद्ध ऐतिहासिक खेलबाट आफ्नो अभियान सुरु गर्दैछ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत नेपाल र इंग्ल्यान्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ।

नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ। कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली नयाँ इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। वाम–अप खेलमा यूएई र क्यानडाविरुद्ध प्रभावशाली ब्याटिङ प्रदर्शन गरेको नेपाली टोली उच्च आत्मविश्वासमा देखिएको छ।

समूह ‘सी’ मा रहेको नेपालका लागि इंग्ल्यान्ड र वेस्ट इन्डिज ठूला चुनौतीका रूपमा छन्। यस्तै, स्कटल्यान्ड र इटालीविरुद्ध पनि नेपालको प्रतिस्पर्धा रहनेछ। इंग्ल्यान्डसँग नेपालको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय भेट भएकाले खेललाई विशेष र ऐतिहासिक मानिएको छ।

टी–२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इंग्ल्यान्ड तेस्रो स्थानमा छ। इंग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको टी–२० विश्वकपको सेमिफाइनल खेलेको थियो भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

विश्व क्रिकेटका दुई पटकका च्याम्पियन इंग्ल्यान्डसँगको यो भिडन्त नेपाली क्रिकेटका लागि ठूलो परीक्षा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित : २५ माघ २०८२, आइतबार, ,