खेलकूद

दोस्रो जाल्पादेवी 7 ‘A’ Side खुला फुटबल कप–२०८२ सम्पन्न, रोयल प्युघर विजेता



मेलम्ची, असोज ११ — मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीस्थित जाल्पादेवी खेलमैदानमा सम्पन्न दोस्रो जाल्पादेवी   7 ‘A’ Side खुला फुटबल कप–२०८२ को उपाधि रोयल प्युघरले आफ्नो नाममा गरेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा रोयल प्युघरले गोर्खाली जि टिमलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो। खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको रोयल प्युघरले चार गोल गर्न सफल रहँदा, गोर्खाली जि एक गोलमै सीमित रह्यो।

कुल १७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता पाँच दिनसम्म निरन्तर रूपमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा विजेता बनेको रोयल प्युघरले रु. १ लाख नगद, सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गोर्खाली जिले रु. ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको छ।

समापन समारोहका प्रमुख अतिथि मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङ रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि वडा नं. १२ का अध्यक्ष श्री गणेश बहादुर तामाङ, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सम्माननीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामले आफ्नो सुमधुर स्वरमा प्रस्तुत गरेको मनमोहक गीतले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। साथै, विविध सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई झन् मनोरञ्जक र उत्साहपूर्ण बनाएको थियो।

उक्त प्रतियोगिताको आयोजना जाल्पादेवी माझिगाउँ युवा क्लबले गरेको हो । क्लबले खेलकुदको माध्यमबाट युवाहरूमा खेलप्रतिको रुचि, आपसी सहकार्य र खेल भावना विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

प्रकाशित : ११ आश्विन २०८२, शनिबार, ,