काठमाडौं । वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० शृंखला खेल्न तयार नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा पाएका छन्। भिसा पाएसँगै नेपाली टोली सोमबार बिहान दुबई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार यूएई सरकारले टोलीलाई भिसा दिएको र यात्रा अब सहज भएको जानकारी दिएका छन्। निर्धारित तालिकाअनुसार टोलीले गत शुक्रबार नै दुबई जानुपर्ने भए पनि भिसा ढिलाइका कारण यात्रा रोकिएको थियो।
जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारले पाएको दबाबका कारण यूएईले नेपालीलाई पर्यटक तथा कामदार भिसामा अस्थायी रोक लगाएको थियो। तर क्रिकेट टोलीका लागि विशेष व्यवस्था गरिएको हो।
नेपाली टोलीले वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा तीन ट्वान्टी–२० खेल्नेछ। त्यसपछि टोली ओमान पुगेर ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्नेछ। छनोटपछि पुनः यूएई फर्की नेपाल, यूएई र अमेरिकाबीच हुने लिग–२ खेलमा सहभागी हुने कार्यक्रम छ।
मुख्य प्रशिक्षक स्टुवार्ट ल शुक्रबार नै दुबई पुगिसकेका छन् भने स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार भारतबाटै दुबई पुग्ने तयारीमा छन्।
























प्रतिक्रिया