काठमाडौँ। महाशिवरात्रि २०८२ को तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गठित समितिमा काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको समग्र तयारी तथा व्यवस्थापनका लागि सक्रिय रूपमा काम गर्नेछ।
मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारी कार्य अघि बढाइएको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए। ती उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार महाशिवरात्रिको तयारीमा समन्वय गरिरहेका छन्।
यसैबीच, मूल समारोह समितिअन्तर्गत रहेको सुरक्षा उपसमितिको बैठक शुक्रबार सम्पन्न भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा महाशिवरात्रि पर्वका अवसरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
























प्रतिक्रिया