भक्तपुर । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट बेलुकी ७ बजे सुरु हुनेछ ।
यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिने भएका छन् । थिमिमा यो जात्रा इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमामा मनाइन्छ भने अर्को जिब्रो छेड्ने जात्रा बोडेमा वैशाख २ गते बिस्काः जात्राका अवसरमा आयोजना हुन्छ ।
थिमिको जिब्रो छेड्ने जात्राको विशेषता भनेकै निश्चित प्रदक्षिणामार्ग (रुट) नहुने हो । जिब्रो छेडेका व्यक्तिको इच्छाअनुसार नगर परिक्रमा गराइन्छ । यस वर्ष वीरेन्द्रभक्तले भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गर्ने कार्यक्रम छ ।
जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठका अनुसार जिब्रो छेड्ने परम्परागत विधि पूरा गरेपछि वीरेन्द्रभक्तले दिगुभैरवलाई परिक्रमा गरी बालकुमारीस्थित थास्मा गणेशको दर्शन गर्नेछन् । त्यसपछि भक्तपुरका विभिन्न धार्मिक स्थल हुँदै नगर परिक्रमा सम्पन्न हुनेछ ।
वीरेन्द्रभक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडेका थिए । करिब लोप हुने अवस्थामा पुगेको यस जात्रालाई जीवन्त राख्न आफू निरन्तर लागिपरेको उनले बताए । “मध्यपुरथिमिको कला, संस्कृति र परम्परालाई विश्वसामु चिनाउन जिब्रो छेड्ने साहस गरेको हुँ,” उनले बताए ।
जात्रा सञ्चालनका लागि एक महिनाअघि कमीनायोले तोरीको तेलमा डुबाएको करिब एक फिट लामो सुइरो तयार गर्छन् । जात्राका लागि राजदरबारबाट राजखड्ग ल्याइन्छ भने थिमिको सायमी समुदायले याँमता तयार गर्छन् । सम्पूर्ण विधि पूरा भएपछि उपस्थित हजारौँको सामुन्ने जिब्रो छेड्ने परम्परा रहिआएको छ ।
























प्रतिक्रिया