देश / प्रदेश

बीपी राजमार्गको सिन्धुली खण्डका लागि बोलपत्र आह्वान



काठमाण्डौ – बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड (नेपालथोक–बर्खेखोला) को पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माण कार्यका लागि सडक डिभिजन खाल्टेले आज ठेक्का आह्वान गरेको हो । ठेक्का ३० दिनमा खोलिनेछ ।

क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि चार प्याकेजमा काम थालिएको हो । अब बाँकी तीन वटा प्याकेज काभ्रेतर्फको सडक डिभिजन भक्तपुरले ठेक्का लगाउने छ ।

अर्थमन्त्रालयले यही फागुन पहिलो हप्ता बीपी राजमार्ग पुनर्निर्माणका लागि आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।

बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म सडकमा क्षति पुर्‍याएको थियो । त्यसमा झण्डै आठ किलोमिटर सडकको संरचना नै क्षतविक्षत छ ।

सडक विभागले क्षतिग्रस्त राजमार्गको अध्ययन गरी पुननिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो । जसअनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

असोज दोस्रो हप्ता बाढी–पहिरोपछि भत्किएको सडक झण्डै दुई हप्तामा अस्थायी डाइभर्सन गरी खोलिएको थियो । यो सडक जोखिमपूर्ण र यात्रा कष्टकर छ ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार, ,