काठमाडौँ । पश्चिम नेपालमा केही दिनअघि वर्षा र हिमपात गराएर फर्किएको पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिबाट सुदूरपश्चिम हुँदै भित्रिने यो प्रणालीले काठमाडौँ उपत्यकासमेत प्रभावित पार्ने र हल्का वर्षा गराउने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार उक्त प्रणाली बुधबार देशैभरि फैलिने अनुमान छ, यद्यपि तराई क्षेत्रमा यसको प्रभाव तुलनात्मक रूपमा कम रहनेछ। उनले भने, “ बुधबार काठमाडौँमा पनि हल्का वर्षा हुनसक्छ, तर प्रणाली कमजोर भएकाले ठूलो झरी पर्ने सम्भावना छैन।” यस प्रणालीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने हिमपात र वर्षा गराउन सक्ने उनले जानकारी दिए।
विभागका अनुसार यो न्यून चापीय प्रणाली गत राति पश्चिम नेपालबाट प्रवेश गरी मङ्गलबार दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिएको छ। मङ्गलबार राति प्रणाली थप सक्रिय भई बुधबारदेखि देशैभरि फैलिने र त्यसपछि क्रमशः कमजोर हुँदै बुधबार रातिदेखि हट्न थाल्ने अनुमान गरिएको छ। यस अवधिमा काठमाडौँ उपत्यकामा पनि बदली रहनेछ।
यस्तो छ मौसम चेतावनी
जल तथा मौसम विज्ञान विभागले माघ १३ र १४ गते सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा पनि वर्षा हुनसक्ने उल्लेख गरिएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना समेत रहेको विभागको चेतावनी छ। मौसमको यस अवस्थाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा साथै हवाई तथा सडक यातायातमा असर पार्न सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
























प्रतिक्रिया