काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल अघि बढेको छ। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन पक्षले संस्थापन पक्षसँग वार्ता गरिरहेको हो। विशेष महाधिवेशनमा करिब ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएपछि संस्थापन समूह वार्तामा बस्न तयार भएको हो।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा समूहका रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला समूहबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा सहभागी छन्।
यसअघि विशेष पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरे पनि उनीहरू उपस्थित भएका थिएनन्। सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थहरूमार्फत् दिइरहेका छन्।
यता, कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गर्दै आएका छन्। उनीहरूले संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी दिएका छन्।
























प्रतिक्रिया