मुख्य समाचार

किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो



काठमाण्डौ – सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार आठ सय ६९ पैसा तोके पनि मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

चैते धान खेती हुने पूर्वदेखि पश्चिम क्षेत्रका किसानले न्यूनतम मूल्यभन्दा पनि कममा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

देशभर झन्डै डेढ लाख मेट्रिकटनको हाराहारीमा किसानसँग चैते धान बिक्रीका लागि रहेको अनुमान छ । पछिल्लो समय भारतबाट झन्डै ३१ अर्ब रुपैयाँको चामल आयात भएको तथ्याङ्क छ ।

किसानले चैते धानको उचित मूल्य नपाएको गुनासोपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच छलफलसमेत भएको छ ।

छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्यव्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो ।

चैते धानको अहिलेको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट चामल आयातको अवस्था, खाद्यव्यवस्था तथा व्यापार कम्पनीमा धान-चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्नसक्ने अवस्था, भण्डारण क्षमतालगायत विषयमा छलफल भएको कृषिमन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।

प्रकाशित : ३ असार २०८२, मंगलबार, ,