काठमाडौं । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा एवं वास्तु दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ ।
यस दिन विशेषगरी कालिगढ र श्रमिक वर्गले कलकारखाना तथा कार्यस्थलमा भगवान् विश्वकर्माको बालुवाको मूर्ति वा तस्वीर स्थापित गरी विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ । पूजाअघि कार्यस्थल सफा गर्ने, विशेष सजावट गर्ने र सबै मजदुरलाई सहभागी गराई सामूहिक रुपमा पूजा गर्ने चलन छ ।
धार्मिक विश्वास अनुसार, आजको दिन प्रयोग हुने औजार र उपकरणमा पूजा आराधना गर्दा ती लामो समयसम्म टिक्ने, सहज रूपमा काम गर्ने र कामका क्रममा नबिग्रने विश्वास गरिन्छ ।
शास्त्रीय कथनअनुसार द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित पारेका थिए । त्यसै समयदेखि विश्वकर्मालाई सफल वास्तुविद् मान्दै वार्षिक रुपमा पूजाआजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।























प्रतिक्रिया