मुख्य समाचार

सभामुख र राष्ट्रियसभाका अध्यक्षको अपिल : संविधान र विधिको शासनमै रहनुपर्नेमा जोड



काठमाडौं । काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरेका छन्।

सम्युक्त वक्तब्य जारी गर्दै उनीहरुले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरू र प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छन्।

साथै, आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

२०८२ भदौ २३ र २४ गतेका घटनाबारे शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै संघीय संसदले आन्दोलनमा भएको जनधनको क्षतिले स्तब्ध बनाएको उल्लेख गरेको छ।

वक्तव्यमा भनिएको छ, “आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु भएका सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु भएका राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।”

संसद भवन, सिंहदरबार सचिवालय, विभिन्न सरकारी कार्यालय, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति र ऐतिहासिक दस्तावेजमा भएको तोडफोड तथा आगजनीले देशलाई अपूरणीय क्षति पुर्‍याएको भन्दै संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ।

वक्तव्यमा हालको विषम परिस्थितिमा संवैधानिक प्रक्रिया र विधिको शासनबाट बाहिर नजाने प्रतिबद्धता दोहोर्याइएको छ। साथै, आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ सुदृढ, समृद्ध र बलियो लोकतन्त्र निर्माणमा सबैलाई प्रतिबद्ध रहन आह्वान गरिएको छ।

संयुक्त वक्तव्यमा राष्ट्रिय सभाका अध्यक्ष दाहाल र प्रतिनिधि सभाका सभामुख घिमिरेको हस्ताक्षर रहेको छ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार, ,