काठमाडौं । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज साँझ ५:३० बजे काठमाडौंस्थित दशरथ रंगशालामा हुँदैछ ।
फिफा विन्डोअन्तर्गत आयोजना गरिएको दुई खेललाई दुवै टोलीले एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिरहेका छन् । करिब दुई वर्षपछि घरेलु मैदानमा खेल्न लागेको नेपाली सिनियर टोलीका कप्तान किरण चेम्जोङले दर्शक सामु खेल्न पाउनु उत्साहजनक भएको बताए ।
नेपालका मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने उद्देश्यका साथ टोली मैदानमा उत्रिने बताए । उनले बंगलादेश बलियो प्रतिद्वन्द्वी भएकाले खेल प्रतिस्पर्धात्मक हुने उल्लेख गरे । त्यस्तै, बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल आउनुअघि राम्ररी तयारी भएको र खेल रोचक हुने विश्वास व्यक्त गरे । कप्तान जमाल भुयाले पनि यस मैत्रीपूर्ण खेलले एसियन कप छनोटका लागि उपयुक्त अभ्यास हुने बताए ।
दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुने तय छ । दुई खेलपछि समग्र नतिजाका आधारमा विजेता घोषणा गरिनेछ । यदि स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन् ।
























प्रतिक्रिया