अन्तरराष्ट्रिय

युद्धविरामका बीच अमेरिकाद्वारा दक्षिणी इरानमा पुनः सैन्य कारबाही



काठमाडौं  । अमेरिकी सेनाले दक्षिणी इरानमा पुनः सैन्य कारबाही सुरु गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार इरानका क्षेप्यास्त्र भण्डारण स्थल तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने तयारीमा रहेका जहाजलाई लक्षित गर्दै आक्रमण गरिएको हो ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा उक्त कदम आत्मरक्षाका लागि चालिएको उल्लेख गर्दै इरानी सैन्य गतिविधिबाट आफ्ना सैनिकलाई सुरक्षित राख्न अभियान सञ्चालन गरिएको बताएको छ ।

सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार युद्धविराम कायम रहेकै अवस्थामा पनि अमेरिकी सेना उच्च सतर्कतामा रहेको र आफ्ना फौजको सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।

यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही सकारात्मक संकेत देखिए पनि तत्काल द्वन्द्व अन्त्य हुने सम्भावना नरहेको बताएका छन् । यस्तो अभिव्यक्तिकै बीच अमेरिकाले नयाँ आक्रमण अघि बढाएको हो ।

प्रकाशित : १२ जेष्ठ २०८३, मंगलबार, ,