अन्तरराष्ट्रिय

अमेरिका–इरान तनावमा कूटनीतिक मोड : युद्ध अन्त्यसम्बन्धी प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी



वासिङ्टन डीसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी सैन्य तनाव अन्त्य गर्न तयार पारिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

वासिङ्टन, तेहरान तथा विभिन्न मध्यस्थ राष्ट्रहरूबीच भएको कूटनीतिक प्रयासपछि अधिकांश जटिल विषयमा सहमति जुटिसकेको र अब रणनीतिक रूपरेखालाई अन्तिम रूप दिन मात्र बाँकी रहेको ट्रम्पको भनाइ छ ।

अमेरिका–इरान युद्धविराम प्रयास निर्णायक मोडमा पुगेका बेला क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरू सक्रिय भएका छन् । यसक्रममा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरको तेहरान भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ । उनले इरानी राजनीतिक तथा सैन्य नेतृत्वसँग युद्ध रोक्ने विषयमा छलफल गरेका थिए ।

प्रस्तावित समझदारीअनुसार अमेरिका र इरानबीच सुरुमा ३० दिनको प्रारम्भिक वार्ता अवधि रहनेछ । आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा थप एक महिना अवधि लम्ब्याउन सकिने व्यवस्था गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘वालस्ट्रिट जर्नल’का अनुसार प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य प्रत्यक्ष युद्ध रोक्नु, अस्थायी कूटनीतिक संरचना निर्माण गर्नु तथा विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ समुद्री मार्गलाई निर्बाध सञ्चालनमा ल्याउनु हो ।

सम्झौताअनुसार इरानले हर्मुज जलमार्ग खुला राख्ने प्रतिबद्धता जनाएको छ भने त्यसको बदलामा अमेरिकाले केही आर्थिक तथा व्यापारिक प्रतिबन्धमा सहजता दिन सक्ने बताइएको छ । साथै वार्ताका क्रममा समुद्री क्षेत्रमा कुनै सैन्य अवरोध वा आक्रमण नगर्ने विषयमा पनि छलफल भइरहेको छ ।

यसबीच इरानको परमाणु कार्यक्रमसम्बन्धी विषयमा पनि महत्वपूर्ण प्रगति भएको दाबी गरिएको छ । ‘न्युयोर्क टाइम्स’ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानले उच्च प्रशोधित युरेनियम भण्डार त्याग्न प्रारम्भिक सहमति जनाएको उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानसँग हाल ६० प्रतिशतसम्म प्रशोधित करिब ४०० किलो युरेनियम रहेको अनुमान छ । उक्त भण्डारलाई तेस्रो मुलुकमा हस्तान्तरण गर्ने वा अन्तर्राष्ट्रिय निगरानीमा व्यवस्थापन गर्ने विषय अझै टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

यस घटनाक्रमप्रति इजराइलमा भने गम्भीर चासो र चिन्ता देखिएको छ । इरानको परमाणु कार्यक्रमलाई सुरक्षा चुनौतीका रूपमा हेर्दै आएको इसराइल वार्ताको प्रत्यक्ष पक्ष नरहेकाले असन्तुष्ट रहेको जनाइएको छ ।

यद्यपि, यो प्रारम्भिक रूपरेखा मात्र भएकाले आगामी विस्तृत वार्ताले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारको भविष्य निर्धारण गर्ने विश्लेषण गरिएको छ ।

प्रकाशित : १० जेष्ठ २०८३, आइतबार, ,