समाचार

७५३ स्थानीय तह मध्ये उत्कृष्ट भित्र सूर्यविनायक नगरपालिका पर्न सफल



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को ‘स्थानीय तहको संस्थागत क्षमता विकास अवस्था विश्लेषण तथा क्षेत्र पहिचान प्रतिवेदन’मा भक्तपुरको सूर्यविनायक नगरपालिका देशकै उत्कृष्ट स्थानीय तहमध्ये पर्न सफल भएको छ।

यसअघि ‘स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन’ र ‘वित्तीय सुशासन जोखिम मूल्याङ्कन’ छुट्टाछुट्टै गरिँदै आएकोमा मन्त्रालयले पहिलोपटक दुवै प्रणालीलाई समायोजन गरी एकीकृत कार्यसम्पादन मूल्याङ्कन प्रणालीमार्फत नतिजा सार्वजनिक गरेको हो। पहिलोपटक गरिएको एकीकृत मूल्याङ्कनमै सूर्यविनायक नगरपालिका उत्कृष्ट भित्र पर्न सफल भएको हो।

प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिकाले ८८ अंक प्राप्त गरेको छ। धादिङको नीलकण्ठ नगरपालिकाले ९४.४० अंकसहित देशकै प्रथम स्थान हासिल गर्दा चितवनको खैरहनी नगरपालिका ९३.१३ अंकसहित दोस्रो स्थानमा रहेका छन्।

उपत्यका (काठमाडौं उपत्यका) का स्थानीय तहहरूमा ललितपुर महानगरपालिकाले करिब ९१.६३.अंक प्राप्त गर्दै छैटौं स्थान हासिल गरेको छ ।

भक्तपुर जिल्लाबाट सूर्यविनायक नगरपालिका उत्कृष्ट सूचीमा समावेश हुनु नगरको प्रशासनिक क्षमता, सेवा प्रवाह तथा सुशासन सुधारको संकेतका रूपमा हेरिएको छ।

नगरपालिकाले प्रशासनिक संयन्त्रलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको, विकास निर्माणलाई गति दिएको तथा नागरिकमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताइएको छ।

मन्त्रालयले कार्यसम्पादनका आधारमा स्थानीय तहलाई आगामी दिनमा अनुदान, प्रोत्साहन तथा सहयोग प्रणालीसँग जोड्नुपर्ने सुझावसमेत प्रतिवेदनमार्फत दिएको छ।

प्रकाशित : ११ जेष्ठ २०८३, सोमबार, ,