अन्तरराष्ट्रिय

गाजामा जीवित बन्धकको सूचीमा बिपिन जोशी



काठमाडौं। हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार अमेरिकी सञ्चारमाध्यम सीएनएनले प्रकाशित गरेको थियो।

तर हाल टाइम्स अफ इजरायल, एपी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा जोशीको नाम पनि समावेश गरिएको छ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामले सन् २०२३ अक्टोबर ७ देखि जारी दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्यतर्फ उन्मुख भएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जना अपहरणमा परेका थिए। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएका छन्, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। गाजाको करिब ९० प्रतिशत जनसंख्या विस्थापित भएको बताइएको छ।

हाल गाजामा ४८ बन्धक रहेका छन् भने २६ बन्धकको मृत्यु भइसकेको इजरायली अधिकारीहरूले जनाएका छन्। युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये बिपिन जोशी एकमात्र गैर–इजरायली हुन्।

जोशी आक्रमणअघि एक महिना मात्र नेपालबाट इजरायल पुगेका थिए। गाजाको सीमाक्षेत्र किबुट्ज अलुमिममा कृषि अध्ययन र कामका लागि पुगेका उनी १७ नेपाली विद्यार्थीमध्ये एक थिए। उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बम आश्रयमा रहेर ग्रेनेड फ्याँक्दै साथीहरूलाई जोगाएका जोशी स्वयं घाइते भई अपहरणमा परेका थिए।

हालै इजरायली सेनाले प्राप्त गरेको भिडियोमा जोशीले आफ्नो परिचय दिँदै भनेका छन्, “मेरो नाम बिपिन जोशी हो, म नेपालबाट आएको हुँ। म यहाँ सिक्न र काम गर्न आएको छु।” यो भिडियो सन् २०२३ को नोभेम्बरमा खिचिएको मानिएको छ र यसले उनको जीवित रहेको प्रमाण दिएको जोशी परिवारले जनाएको छ।

जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले उनको रिहाइका लागि इजरायलदेखि अमेरिका पुगेर अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका थिए। अहिले देशभरि बिपिनको सुरक्षित फिर्तीप्रति अपेक्षा र प्रार्थना गरिएको छ।

प्रकाशित : २६ आश्विन २०८२, आइतबार, ,