काठमाडौं,५ जेठ । प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छिन् ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत शेर्पाले सोमबार बिहान ०८:५६ बजे नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै
सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराउन सफल भएको नेपाल प्रहरीले जनाएको छ ।उनी सोलुखुम्बुको थुलुङकोशी गाउँपालिकाबासी हुन्।
आरोही शेर्पालाई प्रहरी महानिरीक्षक दिपक थापाले गत चैत २५ गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरेका थिए। प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।
यस अघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।
साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।
























प्रतिक्रिया