मुख्य समाचार

‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटि : छानबिन समितिले प्रतिवेदन आज संसदमा पेस गर्ने



काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको भनिएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटिको विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले प्रतिवेदन तयार गरेको छ।

प्रतिनिधिसभाको गत असार २३ गतेको निर्णयअनुसार गठित समितिले प्रतिवेदन आजको बैठकमा पेस गर्ने तयारी गरेको हो।

समिति सदस्य माधव सापकोटाका अनुसार समितिले रातभर सिंहदरबारमा बसेर अन्तिम मस्यौदा तयार पारेको हो। २९ दिनको अवधिमा ३७ पटक बैठक बसेर समितिले प्रतिवेदनलाई अन्तिम रूप दिएको जानकारी दिइएको छ। लामो छलफल र रस्साकसीबीच मंगलबार बिहान चार बजे प्रतिवेदन सर्वसम्मतले पास भएको पास भएको छ ।

समितिले विधेयक निर्माण प्रक्रियामा देखा परेका त्रुटि कसरी भएका हुन् भन्ने विषयमा गहिरो अध्ययन मात्र गरेको छैन, भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन विशेषज्ञहरूसँग पनि परामर्श गरी सुझावसहित प्रतिवेदन तयार गरेको छ।

सरोकारवाला निकायहरूसँग विभिन्न कोणबाट छलफल गरिएको पनि समितिले जनाएको छ।

समितिको प्रतिवेदन पेस भइसकेपछि प्रतिनिधिसभाबाट थप निर्णय लिने तयारी भइरहेको छ। विधेयकका केही प्रावधानलाई लिएर उठेको विवादपछि उक्त समिति गठन गरिएको थियो।

प्रकाशित : २० श्रावण २०८२, मंगलबार, ,