काठमाडौं । बिकास बैंकहरुले वित्तीयरुपमा थप सवल बन्दै गएका छन् । गत आर्थिक बर्षमा बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्याकाकारण निक्षेप बढेपनि अपेक्षाकृतरुपमा कर्जा बढ्न नसक्दा बिकास बैंकहरुको समग्र व्यवसायमा असर परेको थियो।
यसको वावजुत पनि बिकास बैकहरुले गत आर्थिक बर्ष २०८१÷०८२ मा सन्तोषजनकरुपमा खुद मुनाफा आर्जन गर्न सफल हुनुले पनि बिकास बैंकहरुको वित्तीय अवस्था थप सवल बन्दै गएको देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको चौंथो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंकरु मध्ये १४ वटा बैकले कुल पाँच अर्ब ९६ करोड ६३ लाख ६५ हजार छ सय ५० रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९९ करोड २६ लाख ९९ हजार दुई सय ६० रुपैैंयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा बिकास बैंकहरुको यस्तो नाफा चार अर्ब ९७ करोड ३६ लाख ६६ हजार तीन सय ९० रुपैंयाँ मात्र रहेको थियो। अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको चौंथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकको मात्र खुद मुनाफा ऋणात्मक देखिएको थियो भने गत आवको चौंथो त्रैमासमा क्षेत्रियस्तरको कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा ऋणात्मक देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको चौंथो त्रैमासमा कामना सेवा बिकास बैकले ६३ करोड ५२ लाख ९७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ भने सिन्धु बिकास बैंकले ११ करोड ७८ लाख ७८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । साँग्रिला, डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ५३ करोड ७० लाख ९५ हजार, छ करोड ९४ लाख आठ हजार र १३ करोड चार लाख दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा शाईन रेसुंगा, महालक्ष्मी र ज्योति बिकास बैंकले पनि क्रमशः ६८ करोड ८६ लाख २९ हजार, ५० करोड ६६ लाख ६५ हजार र एक करोड २३ लाख ७८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन्।
गत आवको चौंथो त्रैमासिक अवधिमा लुम्बिनी, एक्सेल र गरिमाले भने क्रमशः ३७ करोड ९८ लाख ८४ हजार, चार करोड नौं लाख एक हजार र एक अर्ब ३१ करोड तीन लाख ९२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा मुक्तिनाथ बिकास बैंकले भने एक अर्ब ५३ करोड ७४ लाख ३१ रुपैंयाँ खुद मुनाफा कमाएको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको चौंथो त्रैमासमा क्षेत्रियस्तरको कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकले क्रमशः एक करोड ६३ लाख ८५ हार र दुई करोड ५१ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन।

























प्रतिक्रिया