काठमाडौँ । बहुप्रतिक्षित नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन अपरान्ह २ बजे हुनेछ भने पहिलो खेल ४ बजे खेलाइने तय छ। मङ्सिर २७ गतेसम्म चल्ने एनपिएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्।
दोस्रो संस्करणलाई थप आकर्षक बनाउने उद्देश्यले त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानसहित व्यापक स्तरोन्नति गरिएको छ। १० हजार दर्शक क्षमता भएको नयाँ प्यारापिटका कारण दर्शकले सहज रूपमा सिटमै बसेर खेल हेर्न सक्नेछन्। फ्लड लाइटका कारण राति पनि खेल सञ्चालन हुने व्यवस्था मिलाइएको छ। सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई संरचना हस्तान्तरण आइतबार साँझ मात्र गरेको हो।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। जनकपुर बोल्ट्सले पहिलेको संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
यस वर्षको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। विजेता टोलीले रु १ करोड १० लाख प्राप्त गर्नेछ। उपविजेताले रु ५१ लाख, तेस्रो हुनेले रु २५ लाख र चौथो हुनेले रु १५ लाख पाउनेछन्।
क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्री गरिने जनाएको छ। उद्घाटन खेलका टिकट दुई दिनअघि नै बिक्री सकिएका छन्। शनिबारको खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम १ हजार ५०० तोकिएको छ। अन्य दिनको लिग चरणका लागि टिकट दर ५ सय र १ हजार रहनेछ। प्लेअफका लागि भने जनरल १ हजार र प्रिमियम २ हजार कायम गरिएको छ। सिजनल टिकटको मूल्य १५ हजार निर्धारण गरिएको छ।
यो संस्करणमा आठ फ्रेन्चाइज टोली — जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स — प्रतिस्पर्धामा छन्। यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने लक्ष्य क्यानले राखेको छ।
























प्रतिक्रिया