काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादीसँग पार्टी एकता नगर्न स्पष्ट निर्देशन दिएका छन्।
समाजवादी र माओवादीबीच एकताको गृहकार्य चलिरहेको बेला पत्नीको उपचारका लागि भारतमा रहेका खनालले आफ्नो धारणा सार्वजनिक गर्दै भने, “कमरेडहरु, अहिले हाम्रो पार्टीको निम्ति कसैसँग पनि एकता गर्ने मौसम छैन। हामी कोही पनि गलत बाटो हिँडेर भड्खालोमा नपरोस् र अरूलाई पनि नपारौं।”
खनालले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “हाम्रो ४ वर्षे विद्रोहको यात्रालाई निर्मम समीक्षा गरौं। ठिक–बेठिक के गर्यौं छुट्याऔँ। नवौं राष्ट्रिय महाअधिवेशनदेखि उठेको युवा आवाज र कार्यविधि ध्यानमा राखौँ।”
झलनाथ खनाल अहिले भारतको दिल्लीमा छन्। जेनजी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी भएकाले उनको उपचारका लागि खनाल भारतमा रहेका हुन्। यहीबेला नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय काठमाडौँमा बसिरहेको छ। बैठकमा पार्टी एकताबारे छलफल भइरहेका बेला खनालले “कुबेलाको सहनाई नबजाऔं” भन्दै आफ्नो धारणा पत्रमार्फत सार्वजनिक गरेका हुन्।
उनले पत्रमा जेनजी आन्दोलनपछिको राजनीति निर्वाचनतर्फ केन्द्रित हुँदै गएको बताए। खनालले उल्लेख गरे, “युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनले समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रिया गति दिएको छ।”
साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन्।

























प्रतिक्रिया