कला / मनोरञ्जन

छठ पर्वले सामाजिक सद्भाव र एकता बढाउँछ : काव सभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन। ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो, यहाँ मनाइने विविध चाडपर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका छन। हाम्रा यस्ता पर्वले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने माध्यमका रूपमा समेत काम गरिरहेका छन्,’ शुभकामना सन्देशमा उल्लेख छ।

कार्यवाहक सभापति खड्काले श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गरोस् भन्दै यस पवित्र अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ र दिदीबहिनीको सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

 

प्रकाशित : १० कार्तिक २०८२, सोमबार, ,