सूचना / प्रविधि

स्थानीय तहमा अब ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ छैनन्



काठमाडौं । स्थानीय तह पुनर्संरचनापछि पहिलोपटक देशभरका गाउँपालिका र नगरपालिकामा ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’को संख्या शून्य बनाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गर्दै सबै पालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।

मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गर्दा नै “निमित्त प्रमुखको भरमा स्थानीय तह चलाउने प्रवृत्ति अन्त्य गर्ने” प्रतिबद्धता जनाएकी थिइन्। उनका अनुसार आफूले जिम्मेवारी सम्हाल्दा देशभरका ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका निमित्त प्रमुखकै भरमा चलिरहेका थिए। बिहीबारदेखि भने सबै स्थानीय तहमा पूर्ण जिम्मेवारीसहितका प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन्।

मन्त्री न्यौपानेले यसलाई सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण कदम भन्दै कर्मचारी प्रशासनलाई निरन्तर सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता दोहोर्याइन्। उनले जनप्रतिनिधिलाई खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न र उनीहरूको क्षमताको भरपुर उपयोग गर्न आग्रह गरिन्।

यस व्यवस्थापछि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ। यसले कर्मचारी सरुवामा हुने बाह्य चलखेल घटाउने, चक्रिय सरुवा प्रणालीलाई सहज बनाउने, दुर्गममा समेत सेवा विस्तार गर्ने, प्रशासनिक न्यायको अनुभूति दिलाउने र सेवा प्रवाहलाई छरितो बनाउने अपेक्षा गरिएको छ।

सहसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटिने ९ उपमहानगरपालिका र १ महानगरपालिकामा समेत छिट्टै दरबन्दीअनुसारका अधिकारी पठाउने तयारी भइरहेको मन्त्री न्यौपानेले बताइन्। निजामती सेवा ऐन, २०४९ अनुसार अवकाश नजिक रहेका कर्मचारीबाहेक, पारदर्शिता, कार्यकुशलता र भौगोलिक अनुभवलाई आधार मानेर सरुवा गरिएको उनको भनाइ छ।

यस क्रममा २ वर्षभन्दा बढी एउटै मन्त्रालय वा कार्यालयमा सीमित, उपत्यका केन्द्रित, स्थानीय तहमा अनुभव नपाएका, प्रदेशस्तरमा कामकाजका लागि खटिएका वा फाजिल समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार, ,