काठमाण्डौ – हेटौँडामा गएको शुक्रवार जमिन भासिएर गाडी हराएको घटनाबारे खानेपानी तथा भूगर्भसम्बन्धी विज्ञले अध्ययन थालेका छन् ।

भूगर्भविद्को टोलीले आज बिहानदेखि घटनास्थलको अध्ययन शुरु गरेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । टोलीले जमिन भासिने कारण पत्ता लगाउने र सम्भावित जोखिम मूल्याङ्कन गर्नेछ ।
घटनास्थलमा आवश्यक मापन, नमुना सङ्कलन र विश्लेषणको काम भइरहेको छ । गएको शुक्रवार दिउँसो रोकिराखेको अवस्थामा ना ४ ख ४८३३ नम्बरको गाडी जमिन भासिएर त्यहीँ पसेको थियो ।
गाडी हराएको ठाउँ नजिकै दुई ठाउँमा ठूला माछा पोखरी छन् । पहिले त्यहाँ दलदल पनि रहेको स्थानीयवासीले बताएका छन् ।
शुक्रवार घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिन शुरू भएको थियो ।
गाडी निकाल्ने क्रममा एक्कासी सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको प्रहरीको भनाइ छ । गाडीका चालक र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।
प्रतिक्रिया