काठमाण्डाै – भक्तपुरको सूर्यविनायक नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/८३ लाई योग वर्षका रूपमा मनाउने भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको बाल्कोट योग साधना केन्द्रको १५ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उपमेयर सरिता तिमसिना भट्टराईले यस्तो जानकारी दिनुभएको हो ।
सूर्यविनायकमा पतञ्जली योग समिति भक्तपुर अन्तर्गत १७ वटा साधना केन्द्रसहित अन्यसमेत गरी झन्डै ५० वटा योग साधना केन्द्र रहेको भन्दै उहाँले यी केन्द्रहरूले स्वस्थ समाज निर्माणमा भूमिका खेलिरहेका बताउनुभयो ।
कार्यक्रममा पतञ्जली सूर्यविनायक नगर योग समितिका अध्यक्ष रत्नलाल श्रेष्ठले नगरपालिकामा योगको प्रचारका लागि बाल्कोट योग साधना केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । बाल्कोट योग साधना केन्द्र सूर्यविनायक नगरपालिकामै पहिलो रहेको र यसैको सक्रियतामा विस्तार भएका १७ वटा साधना केन्द्रमा सात सय जनाभन्दा धेरै व्यक्तिले नियमित योग साधना गर्दै आएका उहाँले बताउनुभयो ।
आफ्नो १५औं स्थापना दिवसका अवसरमा बाल्कोट योग साधना केन्द्रले सप्ताहव्यापी कार्यक्रम गरेको छ । केन्द्रले विभिन्न धार्मिक स्थल लगायतको सरसफाइ, रक्तदान कार्यक्रम र मानव सेवा केन्द्रमा रहेकाहरूलाई खाना खुवाउने लगायत कार्यक्रम गरेको केन्द्रकी कार्यवाहक संयोजक सावित्री आचार्यले जानकारी दिनुभयो ।
बाल्कोट योग साधना केन्द्र अन्तर्गत नेपाल रेडक्रस बाल्कोटमा उपशाखाको भवनमा हरेक दिन बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योगाभ्यास हुने गर्दछ ।
























प्रतिक्रिया