काठमाडौं, चैत ६ । नेपाली श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन यही चैत १० गतेबाट कोसी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।
महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो ।
महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रेस चौतारी नेपाल महाधिवेशनको अन्तिम तयारीमा जुटको छ । महाधिवेशनको लागि सांगठनिक तथा राजनीतिक प्रतिवेदन तयारको काम अन्तिम चरणमा पुगेको महासचिव लामाले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिनुभएको मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको आधारमा समृद्ध नेपाल सुखी नेपाली निर्माणको आकाङ्क्षा पुरा गर्ने अभियानलाई सञ्चारकर्म मार्फत साथ दिने गरी प्रतिवेद तयार भइरहेको छ, केपी ओली समृद्धिको नायक भएको कारण उहाँ माथि चौतर्फी घेराबन्दी भएकोले त्यसलाई चिर्ने र केपी ओलीलाई सबैको साझा नेता बनाउने चौतारीको अभियान हो, त्यो अभियानलाई सफल बनाउने विषयमा महाधिवेशन केन्द्रित हुने छ’, लामाले भन्नुभयो ।
लामाले अहिले मिडियाको अर्थराजनीति सीमित मानिसले कब्जा गरेका बताउँदै त्यसमा सबै सञ्चारमाध्यम, त्यसमा पनि श्रमजीवी पत्रकारले चलाएका सञ्चार संस्थाको पहुँच कसरी स्थापित गर्न सकिन्छ भन्ने कुरामा महाधिवेशनको छलफल केन्द्रित हुने लामाले बताउनुभयो । ‘प्रेस चौतारी नेपालको यो महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने छ’, उहाँले भन्नुभयो ।
उता विराटनगरमा कार्यक्रमको तयारीमा संगठनका सचिव विक्रम लुइँटेलको नेतृत्वमा टोली खटिरहेको छ । अतिथिहरूको सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको व्यवस्थापनमा टोली खटेको छ ।
कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखिकै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको लुइँटेलले जानकारी दिनुभयो । प्रतिनिधिलाई आयोजकले चैत १० र ११ गतेको आवासको व्यवस्था मिलाएको छ । त्यस्तै केन्द्रीय पदाधिकारी र सदस्यहरूका लागि चैत ९ गतेदेखि नै आवासको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।
‘चैत १० गते ११ बजेबाट कार्यक्रम सुरु गर्न मिल्ने गरी हामी तयारीमा जुटेका छौँ’, लुइँटेलले भन्नुभयो ।
प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा नेतृत्व चयनको तयारी गरिरहेको छ । तथापि आकाङ्क्षा राख्ने धेरै हुँदा मतदान प्रक्रियाबाट पनि नेतृत्व आउन सक्छ ।
संगठनका अध्यक्ष गणेश बस्नेत तथ्यको आधारमा सत्य स्थापित गर्नु र पार्टीको मूल नेतृत्वलाई दृढतापूर्वक साथ दिनु नै प्रेस चौतारी नेपालको पहिचान भएको बताउनुहुन्छ । त्यो पहिचानभन्दा तलमाथि हुनेहरू संगठनका लायक सदस्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।
महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठन संकटमा पर्दा काम नगर्ने व्यक्ति प्रेस चौतारी नेपालको नेता बन्न नसक्ने उहाँको स्पष्ट धारणा छ । ‘सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धालाई निषेध गरेर प्रेस चौतारी जाँदैन, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भन्नुभयो ।
























प्रतिक्रिया