समाचार

टेरामक्स खरिद प्रकरणः विशेष अदालतद्वारा सक्कल फाइल झिकाउन आदेश,



काठमाडौँ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत जोडिएको टेरामक्स खरिदसम्बन्धी मुद्दामा विशेष अदालतले खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबार उक्त आदेश गरेको हो ।

अदालतले सो मुद्दासँग सम्बन्धित सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिँदा तयार पारिएको प्रतिवेदनसहितको फाइल समेत पेश गर्न आदेश दिएको छ ।

उक्त प्रकरणमा एक अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी गरी खरिद गरिएका सामग्रीहरू जडानसमेत भइसकेकाले त्यसको गुणस्तर मापन गराउन विशेष आदेश दिइएको अदालतले जनाएको छ ।

अदालतको आदेशअनुसार विशेष अदालत नियमावली, २०८० को नियम ५९ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणका विषय विज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा विषय विज्ञ समूह गठन गरिएको छ । समूहमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन तथा इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) का विषय विज्ञ सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनी भेनराइज सोलुसनसका आधिकारिक प्रतिनिधिको उपस्थितिमा आपूर्ति तथा जडान गरिएको प्रणाली र सामग्री सम्झौताअनुसारको भए–नभएको प्राविधिक परीक्षण गरी प्रतिवेदनसहित अदालतमा पेश गर्न आदेश दिइएको छ ।

विशेष अदालतले उक्त प्राविधिक परीक्षण प्रतिवेदनका आधारमा मुद्दाको थप सुनुवाइ अघि बढाउने जनाएको छ ।

प्रकाशित : १४ माघ २०८२, बुधबार, ,