समाचार

टी–२० विश्वकप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ



काठमाण्डौ – भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीले विश्वकप अघि श्रीलङ्का र भारतमा अभ्यास पनि खेल्नेछ । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । आउँदो फेब्रुअरी ७ अर्थात् यही माघ २४ गते देखि मार्च ८ तारिख अर्थात् फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा टी–२० विश्वकप आयोजना हुँदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) पछि केही दिन विश्राम लिए पनि तयारी सुखद् रहेको उल्लेख गरे ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलङ्कामा हुने अभ्यासमा नेपाली टोलीलाई विश्वकप लक्षित भुमिकामा तयार बनाउने बताएका छन् । विश्वकप खेल्नु खेलाडीसँगै प्रशिक्षक र म्यानेजमेन्टका लागि पनि गर्वको क्षण रहेको उल्लेख गर्दै उनले नेपालले गर्व गर्ने विश्वकप हुने आशा व्यक्त गरेका छन् । उनले पछिल्ला तीन हप्तादेखि विश्वकपका लागि विशेष तयारी गरेको पनि उल्लेख गरे ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले श्रीलङ्का ‘ए’ को टोली राम्रो हुने श्रीलङ्का क्रिकेटले आश्वासन दिएको सुनाए ।

क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताए । खेलाडी सबैका आदर्श पात्र रहेकाले विश्वकपका खेलले मात्र नभई त्यहाँ खेलाडीले गर्ने सबै गतिविधिले प्रभाव पार्ने भएकाले अनुशासित हुन पूर्व कप्तान समेत रहेका खड्काले सुझाव दिएका छन् ।

विश्वकपपछि टेस्ट राष्ट्रसँग खेल्नका लागि प्रक्रिया चलिरहेको सचिव खड्काले जानकारी दिए । साथै नतिजा आफू अनुकुल नभए पनि यो विश्वकप एउटा ठूलो अवसर रहेको खेलाडीलाई स्मरण गराएका छन् ।

पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । दोस्रो पटक विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ ।

यो विश्वकपमा समूह ‘सी’मा रहेको नेपालसहित इङ्ल्याण्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश छन् । नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ अर्थात् यही माघ २५ गते इङ्ल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

प्रकाशित : ३ माघ २०८२, शनिबार, ,